नेपालकै एकमात्र नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने भएकाे छ । सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको हाे ।
आयोजनाले आज सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको जनाएकाे हो । यसअघि सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो ।
सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । जसअनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा रु ६० तोकेको छ ।
त्यसैगरि मिनीबस, मिनी टिपर/ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा रु १२५ र काठमाडौँबाट प्रस्थान गर्दा रु ८० दस्तुर तोकेको छ । त्यसैगरी बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौँ प्रवेश गर्दा रु २६० र काठमाडौँबाट प्रस्थान गर्दा रु २०० दस्तुर तोकिएको छ ।
त्यसैगरी मल्टिएक्सल ट्रक/सवारीसाधन, भारी उपकरणको लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र काठमाडौँबाट प्रस्थान गर्दा रु २५० दस्तुर तोकिएको छ । उक्त सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरेर सवारीसाधन परीक्षणका रूपमा सवारीसाधन गुडाउँदै आइरहेको छ ।