आज नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेल हुँदैछ । पहिलो खेल काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेल सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुन लागेकाे हाे ।
काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो साढे १२ बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरि दोस्रो खेल साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुने खेल तालिका रहेकाे छ ।
आजकाे पहिलो खेलमा जितबिहीन रहेकाे काठमाडौँ गोर्खाज पहिलो जितको खोजीमा रहने छ भने उता कर्णाली याक्सले अहिलेसम्म दुई खेलमा विजयी भएर चार अङ्क जोडिसकेको छ । कर्णाली तेस्रो जितका लागि मैदानमा उत्रिँदै छ ।
आज साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् । हालसम्म सुदूरपश्चिम रोयल्सले तीन खेल खेलिसक्दा एक खेलमामात्र जित निकालेको छ भने दुई खेलमा पराजित सुदूरपश्चिम चौथो खेल जित्नै पर्ने दबाबमा रहेकाे छ ।
त्यसैगरि चितवन राइनोजले दुई खेल खेलिसक्दा अपराजित रहेकाे छ । एक जित निकालेको चितवनले एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियाे ।