इलाममा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौं ल्याउन लागिएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा आमरण अनशनमा बसेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हाे ।
कातिक १२ गते बिहीबारदेखि अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । इलाममा रहेका उनका सहयोगी पवन थापाका अनुसार डा. केसीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको बताइएकाे छ ।
सरकारले आफ्नाे माग बारे सम्बोधन गर्न चासो नदेखाएको भन्दै डा. केसीले इलामस्थित नारायण मन्दिरमा अनशन सुरु गरेका थिए । उनको २५औँ सत्याग्रह हो । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, सर्वसाधारणको सहज पहुँच तथा विगतका सहमति कार्यान्वयनको माग गर्दै उनी पटक–पटक अनशन बस्दै आएका छन् ।