समयले मानिसलाई आ–आफ्नै बाटोमा डोर्यायो । कोही रोजगारीका सिलसिलामा टाढा पुगे, कोही व्यवसायमा व्यस्त भए त कोही पारिवारिक जिम्मेवारीमा अल्झिए । विद्यालयका कक्षाकोठामा सँगै बसेर पढेका, एउटै मैदानमा खेलेका र सुखदुःख साटेका साथीहरु वर्षौंसम्म भेटघाट गर्न नपाएपनि ती पुराना सम्झना भने मेटिएका छैनन् । यही आत्मीय सम्बन्धलाई फेरि ताजा बनाउन श्री सरस्वती माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरु वर्षौंपछि एउटै थलोमा जुट्ने तयारीमा रहेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको काेशीपारी अन्तर्गत चौरीदेउराली गाउँपालिका–४, सालिमेस्थित श्री सरस्वती माध्यमिक विद्यालयका एसएलसी २०५५ ब्याचका विद्यार्थीहरूले भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्न लागेका हुन् । विद्यालय जीवनका अविस्मरणीय क्षणलाई पुनः स्मरण गर्ने, लामो समयदेखि सम्पर्कविहीन रहेका सहपाठीलाई एकै ठाउँमा भेला गराउने र पुरानो मित्रतालाई नयाँ ऊर्जा दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक टिमका शंखबिर लामाले जानकारी दिएका छन् । उनले लामाे समयकाे मेहनत पश्चात कार्यक्रम आयाेजना हुन लागेकाे र उक्त कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाे बताएका छन् ।
आयोजक टिमका अर्का सदस्य उत्तम विकका अनुसार यही कात्तिक २८ गते शनिबार बिहान १० बजे काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा कार्यक्रम हुने बताइएकाे छ । विद्यालय छाडेपछि समय र परिस्थितिले अलग–अलग दिशामा पुर्याएका सहपाठीहरुबीच पुनः भेटघाट गराउने यो कार्यक्रमलाई केवल औपचारिक जमघटका रुपमा मात्र नभई पुराना सम्बन्धलाई पुनर्जीवित गर्ने अवसरका रुपमा हेरिएको उनकाे भनाइ रहेकाे छ । कक्षाकोठाका रमाइला पल, शिक्षकले दिएका प्रेरणा, विद्यालय परिसरमा बिताएका दिन र सँगै देखेका सपनाहरु यस भेटघाटका मुख्य सम्झना बन्ने अपेक्षा गरिएको छ ।
त्यस्तै अर्का सदस्य श्रवण कुमार चाैलगाईंले वर्षौंको अन्तरालपछि हुने यस्तो पुनर्मिलनले साथीहरूबीच आत्मीयता र सद्भाव बढाउनुका साथै नयाँ पुस्तासमेत जोडिने सम्बन्धको आधार तयार गर्ने विश्वास गरिएको बताए । उनले विद्यालयसँग जोडिएको साझा इतिहास र अनुभवले पूर्वविद्यार्थीहरूलाई पुनः एउटै सूत्रमा बाँध्ने अपेक्षा गरिएकाले कार्यक्रममा एसएलसी ब्याच २०५५ का सम्पूर्ण पूर्वविद्यार्थीलाई सहभागी हुन आग्रह गरेका छन् । उनका अनुसार उक्त कार्यक्रममा विविद्यालयका गुरुहरुलाई सम्मान गरिने समेत बताइएकाे छ ।
कार्यक्रममा सहभागी भई पुराना साथीहरुसँग भेटघाट गर्न, विगतका सम्झना साट्न र मित्रताको सम्बन्धलाई थप प्रगाढ बनाउन आह्वान गर्दै आयोजकले कार्यक्रमसम्बन्धी थप जानकारी तथा सहभागिताका लागि ९८५११९०८८९ र ९८५१२७९३९७ मा सम्पर्क गर्न सकिने बताएकाे छ ।