पछिल्लाे समय मकवानपुरमा डेङ्गीकाे सङ्क्रमण बढ्न थालेकाे छ । अहिले मकवानपुरमा डेङ्गी सङ्क्रमण बढेकाे जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म २१२ जना डेङ्गी सङ्क्रमण भेटिएकाे छ भने जसमध्ये सबैभन्दा बढी डेङ्गीबाट हेटौँडा उपमहानगरपालिका प्रभावित भएकाे कार्यालयले जनाएकाे छ ।
डेङ्गीकाे सङ्क्रमण हेटौँडामा १ सय ६९ जना, भीमफेदी गाउँपालिकामा १७ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा ९/९ जना, बकैयाँ गाउँपालिकामा ३ जना, बागमती र कैलाश गाउँपालिकामा २/२ जना र राक्सीराङ गाउँपालिकामा १ जना डेङ्गीबाट सङ्क्रमित भएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।
जनस्वास्थ्य कार्यालयका अनुसार मकवानपुरका ४८ जना स्क्रब टाइफसबाट पीडित भएका छन् भने जसमध्ये हेटौँडामा मात्र २६ जना रहेको सूचना अधिकारी घिमिरेले जनाएका छन् । अहिले जिल्लामा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान शुरु गरिएको छ ।