वर्षा र सहकालको देवताका रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएकाे छ । ललितपुरमा ऐतिहासिक तथा सांस्कृतिक रूपमा मनाइँने उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको यस वर्ष पनि तिथिअनुसार हिजाे शनिबार रथारोहण गरिएको हो ।
रातो मच्छिन्द्रनाथको रथारोहण गरिएसँगै हिजै मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक ल्याएर पूजाअर्चना गरी रथमा विराजमान गराइएको थियाे । गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएसँगै मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्याई पूजाअर्चनासहित रथमा विराजमान गराइएको हो ।
रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार पूजारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा सम्पन्न गरी रथारोहण गरिएको हो । तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ तानेर गाबहालतर्फ लगिने गुठी संस्थानले जनाएकाे छ ।