नेपाल सरकारले भारत र चीनलाई नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा पठाएको कूटनीतिक नोटको भारतले जवाफ फर्काएको छ । भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो पुरानै भएकाे जवाफ दिएकाे हाे ।
भारत सरकारको विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताउँदै भारतले नेपालका केही भू–भाग सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको र त्यस्ता एकतर्फी दाबी अस्वीकार्य रहेको बताएको छ ।
त्यसैगरि भारतले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा, विशेष गरी सीमा विवाद समाधानका लागि, संवाद र कूटनीतिमार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको समेत जनाएको छ ।
नेपाल सरकारकाे परराष्ट्र मन्त्रालयले दुवै देशलाई कूटनीतिक नोट पठाएर यसबारे ध्यानाकर्षण गराएकोमा भारतले नेपालले पत्र पठाएको केही घण्टामै यसबारे जवाफ फर्काएको हो ।