पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा पाैने ५ लाख बढी राजस्व सङ्कलन गरेकाे छ । ट्राफिक प्रहरीकाे कारबाहीमा परेका १ हजार ८ सय ४१ जना सवारी चालककाे कारबाहीबाट ४ लाख ७९ हजार ५ सय १ रुपैयाँ राजस्व सङ्कलन भएको हाे ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार चेक जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने १०७, राइड सेयरिङमा १९२, रातोबत्तीमा १८३, तीव्र गतिमा १२६, लेनक्रसमा ४१, सडक फुटपाथमा ७५, हर्न निषेधमा १४९, एकतर्फीमा ७७ र अन्यमा ८९१ गरी १ हजार ८४१ जना चालकलाई कारबाही गरिएको थियाे ।
उपत्यकामा २४ घण्टाको अवधिमा १ हजार ८४१ जना चालकहरूलाई कारबाही गर्दा ४ लाख ७९ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको हाे । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएकाले चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न आग्रह गरेको छ ।