नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ । गएराति ८० वर्षको उमेरमा बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उनकाे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
वि.सं. २००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेल केही दिनअघि दमसहितको स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका खरेलकाे अस्पतालमै निधन भएकाे हाे । खरलेले पटकपटक गरी करिब ९ वर्ष जेल जीवन बिताएका थिए ।
तत्कालीन नेशनल कलेजमा नेपाल विद्यार्थी संघको इकाइ कमिटीका सचिव भएर राजनीतिमा क्रियाशील भएका खरेलले २०३६ को जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र ०६२/२०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।
नेपाली कांग्रेसका बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतलाई अदर्श मान्ने खरेल २०५६ मा संसद जितेपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत भएका थिए ।
स्वर्गिय खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले ९ बजेदेखि ११ बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने र उनको अन्तिम संस्कार आज दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिने पारिवारश्राेतले जनाएकाे छ ।