काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार नागरिकका वास्तविक समस्या समाधानभन्दा सामाजिक सञ्जालमा लोकप्रियता बटुल्ने काममा बढी केन्द्रित भएको आरोप लगाएका छन्।
सरकारको १०० दिने कार्यसम्पादनको समीक्षा गर्दै उनले वर्तमान सरकार ‘लाइफभन्दा लाइक’ को राजनीतिमा अल्झिएको टिप्पणी गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि शुरु भएको सरकारको १०० दिने कार्यकालसम्बन्धी समीक्षात्मक कार्यक्रममा धारणा राख्दै सभापति थापाले सरकारका प्राथमिकता र कार्यशैलीमाथि प्रश्न उठाए।
उनले सरकारको ध्यान नागरिकको जीवनस्तर सुधार, कानुनी समाधान र दीर्घकालीन नीतिगत सुधारमा केन्द्रित हुनुपर्नेमा प्रचारमुखी गतिविधितर्फ बढी गएको दाबी गरे।
थापाले विशेषगरी भूमिहीन तथा सुकुम्बासी समुदायको विषय उठाउँदै सरकारले समस्याको स्थायी समाधान खोज्न आवश्यक कानूनी र नीतिगत पहल नगरेको आरोप लगाए।
उनका अनुसार सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णयले तत्काल चर्चाको विषय त बन्यो, तर वास्तविक समस्या समाधानतर्फ सरकार अग्रसर हुन सकेन।
“यो सरकारलाई नागरिकको जीवनभन्दा सामाजिक सञ्जालको लाइकको बढी चिन्ता देखिन्छ,” थापाले भने, “यदि भूमिहीनहरूको समस्या कानून बनाएर समाधान गरिएको भए त्यसले तत्काल सामाजिक सञ्जालमा लोकप्रियता नपाउन सक्थ्यो।
तर, समस्या समाधानको बाटो त्यही थियो। त्यसको सट्टा डोजर चलाएर चर्चा कमाउने प्रयास गरिएको देखिन्छ।”
उनले सरकार आफैंले ‘१०० कार्यसूची, १०० दिनका उपलब्धि’ सार्वजनिक गरेकाले त्यसको आधारमा मूल्याङ्कन गर्नु स्वाभाविक भएको बताए।
सरकारका उपलब्धिभन्दा पनि कार्यशैली र प्रवृत्तिको समीक्षा आवश्यक रहेको उनको भनाइ थियो।
विधि र प्रक्रियाभन्दा परिणामको राजनीति ?
सभापति थापाले वर्तमान सरकार विधि, प्रक्रिया र संस्थागत अभ्यासभन्दा ‘छिटो परिणाम’ देखाउने मानसिकताबाट अघि बढिरहेको आरोप पनि लगाए।
उनले कानुनी प्रक्रिया र संस्थागत प्रणालीलाई बेवास्ता गरेर उपलब्धि देखाउने प्रयास दीर्घकालीन रूपमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि चुनौतीपूर्ण हुन सक्ने बताए।
“विधि र प्रक्रिया केही होइन, परिणाम दिन्छु भनेर सरकार अघि बढिरहेको छ,” उनले भने, “यस्तो अभ्यास हामीले विगतमा पनि देखेका थियौं।
तत्काल परिणाम देखिएजस्तो लागे पनि त्यसले संस्थागत प्रणाली कमजोर बनाउने जोखिम हुन्छ।”
उनले विगतमा नेकपा नेतृत्वको सरकारका समयमा पनि यस्तै प्रवृत्ति देखिएको उल्लेख गर्दै अहिलेको सरकारले समेत त्यही शैली दोहोर्याइरहेको संकेत गरे।
प्रधानमन्त्री शाहको कार्यशैलीको एक पक्षमा प्रशंसा
सरकारमाथि आलोचना गरे पनि थापाले प्रधानमन्त्री बालेन शाहको एउटा कार्यशैलीको भने खुलेर प्रशंसा गरे।
उनले प्रधानमन्त्रीले शासन सञ्चालनको केन्द्रलाई प्रधानमन्त्री निवास बालुवाटारभन्दा सिंहदरबारमा राखेको विषय सकारात्मक रहेको बताए।
थापाका अनुसार विगतमा धेरैजसो महत्वपूर्ण सरकारी निर्णय, छलफल र बैठकहरू प्रधानमन्त्री निवासबाट सञ्चालन हुने प्रवृत्ति रहेको थियो।
तर, प्रधानमन्त्री शाहले सरकारी कामकाजलाई संस्थागत बनाउने उद्देश्यसहित सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्राथमिकता दिएको देखिएको छ।
“प्रधानमन्त्रीलाई एउटा विषयमा धन्यवाद दिनुपर्छ,” थापाले भने, “उहाँले बालुवाटारबाट होइन, सिंहदरबारबाट शासन गर्ने अभ्यास शुरु गर्नुभएको छ।
सरकारी निर्णय र प्रशासनिक कामकाजको केन्द्र सिंहदरबार नै हुनुपर्छ भन्ने मान्यतालाई यसले बल पुर्याएको छ।”
प्रधानमन्त्री शाहले हालसम्म मन्त्रिपरिषद्का अधिकांश बैठक तथा सरकारी छलफलहरू सिंहदरबारबाटै सञ्चालन गर्दै आएका छन्।
यसलाई प्रशासनिक संस्थाहरूको भूमिकालाई सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।
कांग्रेसको समीक्षा बैठकमा सरकारमाथि प्रश्न
कांग्रेसले सरकारको १०० दिने कार्यकालको समीक्षा गर्ने क्रममा विभिन्न क्षेत्रका नीति, कार्यसम्पादन, सुशासन, आर्थिक गतिविधि, सामाजिक क्षेत्र र प्रशासनिक सुधारका विषयमा धारणा संकलन गरिरहेको छ।
सोही क्रममा सभापति थापाले सरकारको कार्यशैलीमाथि आलोचनात्मक टिप्पणी गरेका हुन्।
उनको भनाइले वर्तमान सरकारको लोकप्रियतामुखी राजनीति र दीर्घकालीन नीतिगत सुधारबीचको बहसलाई थप तीव्र बनाएको छ।
कांग्रेसले आगामी दिनमा सरकारका निर्णय र कार्यसम्पादनलाई अझ नजिकबाट निगरानी गर्ने संकेत पनि दिएको छ।