चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि काठमाडाैँकाे पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।
श्रावणे सोमबारकाे अवसरमा दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ ।
मन्दिरमा प्रवेश गर्नका लागि चार वटा लामको व्यवस्था गरिएको छ । श्रावणे सोमबारमा पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।