दसैँ-तिहार लगायतका चाडपर्व नजिकिँदै गर्दा चाडबाडकाे समयमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नहुने नेपाल आयल निगमले जनाएकाे छ । निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मौज्दात चाडपर्वको माग धान्न पर्याप्त रहेको बताइएकाे हाे ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजाे बसेको बैठकमा निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले हाल औसत १३ देखि १४ दिनको इन्धन भण्डारण कायम रहेको जानकारी दिएका थिए । निगमसँग १ करोड ५० लाख लिटर पेट्रोल, ४ करोड ६० लाख लिटर डिजेल, १७ लाख लिटर मट्टितेल र ७० लाख लिटर हवाई इन्धन मौज्दात रहेकाे साहाकाे भनाइ रहेकाे छ ।
पेट्रोलको दैनिक खपत करिब २० लाख लिटर रहेको उल्लेख गर्दै साहले दसैँ-तिहारमा माग केही बढे पनि उपलब्ध मौज्दातबाट आपूर्ति व्यवस्थापन गर्न सकिने बताएका छन् । निगमका अनुसार पछिल्लाे समय सबैभन्दा बढी दबाब खाना पकाउने एलपीजी ग्यासको आपूर्ति व्यवस्थापनमा देखिएको र नेपालमा विभिन्न ५८ वटा ब्रान्डका सिलिन्डर कारोबारमा रहेकाले आपूर्ति प्रणाली व्यवस्थापनमा जटिलता उत्पन्न भएको साहले बताए ।
भारतमा सीमित ब्रान्डबाट एलपीजी कारोबार हुने गरेको भए पनि नेपालमा धेरै ब्रान्ड र फरक–फरक सिलिन्डरको प्रयोगले दीर्घकालीन रूपमा आपूर्ति व्यवस्थापन कठिन बनाएको छ। यसलाई समाधान गर्न ब्रान्ड मर्जरको विकल्पमा निगमले अध्ययन तथा योजना अघि बढाएको पनि साहाले बताए ।
नेपालले भारतका विभिन्न रिफाइनरी तथा डिपोबाट एलपीजी आयात गर्नुपर्ने र ढुवानी दूरी लामो रहेकाले आपूर्ति व्यवस्थापनमा समय र लागत दुवै बढ्ने निगमको भनाइ छ । भारतबाट करिब १ हजार २२५ सिलिन्डर बोकेको एउटा बुलेट नेपाल आइपुग्न करिब १० दिन लाग्ने साहले बताए ।
आवश्यकता बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर निगमले अग्रिम रूपमा ठूलो परिमाणमा ग्यास ल्याउने प्रयास गर्दै आएको तर अग्रिम आयातका क्रममा खाली सिलिन्डरको मौज्दात बढेका कारण पछिल्लो समय माग एकै पटक बढ्दा व्यवस्थापनमा दबाब परेको साहले बताए ।
निगमले चालु महिनाको अनुमानित आवश्यकताभन्दा बढी एलपीजी बजारमा पठाइएको बताउँदै साहले करिब ३३ लाख सिलिन्डर आवश्यक पर्ने अनुमान भए पनि ३४ लाख सिलिन्डर बजारमा पठाइसकिएको बताए ।
अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमै अवरोध नआएसम्म आवश्यकताअनुसार थप ग्यास आयात गर्न सकिने तर लामो दूरीको ढुवानी लागत र त्यसको भार उपभोक्तामाथि पर्ने अवस्थालाई ध्यानमा राखेर दीर्घकालीन आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा साहले जोड दिएका छन् ।
एलपीजी अभावसम्बन्धी गुनासो बढेपछि निगमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा वैकल्पिक तथा स्ट्यान्डबाइ वितरणको व्यवस्था गरेको जनाउँदै टेकु, कालीमाटी र जडीबुटीलगायतका स्थानबाट आवश्यकताअनुसार ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको साहले जानकारी दिएका छन् ।
वृद्ध, असहाय तथा सुत्केरी उपभोक्तालाई ग्यास लिन कठिनाइ भएमा घरमै पुर्याउने व्यवस्था समेत गरिएको र स्थानीय प्रशासनसँग समन्वय गरेर वितरण प्रणाली सञ्चालन भइरहेको निगमको भनाइ रहेकाे छ ।
चाडपर्वका समयमा इन्धनको अभाव हुने भन्दै उपभोक्तामा अनावश्यक त्रास सिर्जना नगर्न आग्रह गर्दै साहले नियमित आपूर्ति कायम राख्न निगमले आवश्यक तयारी गरिरहेको जानकारी गराएका छन् ।