काठमाण्डू, नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी र समन्वय डा.शशांक कोइरालाको नेतृत्वमा अघि बढाउने निर्णय गरेको छ।
तीन दिनसम्म चलेको राष्ट्रिय भेला समापन गर्दै इतर पक्षले आगामी महाधिवेशनसम्मका पार्टीगत गतिविधिलाई सभापति शेरबहादुर देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलन आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले समन्वय गर्ने निर्णय गरेको हो।
भेलाबाट पारित निर्णयमा भनिएको छ, ‘१५औँ महाधिवेशनसम्म नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलन आयोजक समितिका संयोजकले नै संयोजन गर्दै जानुहुनेछ।’
यस निर्णयसँगै कांग्रेसको आगामी महाधिवेशनको तयारीमा डा। शशांक कोइरालाको भूमिका थप महत्वपूर्ण हुने भएको छ।
महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि, भेला तथा सम्मेलनलाई सभापतिको निर्देशनअनुसार समन्वय गर्दै अघि बढाउने जिम्मेवारी उनलाई दिइएको हो।
तीन दिने भेलाको समापनसँगै इतर पक्षले महाधिवेशनलाई केन्द्रमा राखेर पार्टीका गतिविधिलाई निरन्तरता दिने स्पष्ट संकेत गरेको छ।
महाधिवेशनको तयारी, संगठनात्मक गतिविधि र पार्टीभित्रको समन्वय अब यही निर्णयअनुसार अघि बढ्ने देखिएको छ।