ललितपुर महानगरपालिकाभित्र पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको चक्रपथ सडकखण्ड अहिले रातकाे समयमा पनि उज्यालाेले झिलिमिली भएको छ । महानगरपालिका भित्रकाे उक्त सडकमा १३ करोड रुपैयाँ लगानीमा निर्मित अत्याधुनिक स्ट्रिट लाइट सञ्चालनमा आएपछि यो सडकखण्ड पूरै उज्यालो बनेको हाे ।
उक्त सडकखण्डमा लाइट जडान गर्न महानगरपालिकाले १० करोड रुपैयाँ र नेपाल विद्युत् प्राधिकरणले ३ करोड रुपैयाँ लगानी गरेका छन् । गत बुधबारदेखि सञ्चालनमा आएकाे ७.९ किलोमिटर सडकखण्डमा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा निकै सहज भएको छ ।
अहिले सडकमा उज्याले भएपछि यसले सुरक्षित यात्रालाई बल पुर्याएको छ । पैदलयात्रीमात्र होइन रातको समयमा त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले जहाजबाट उज्यालो सडक र ललितपुरको दृश्य देख्न सक्छन् ।