काभ्रेपलाञ्चोक जिल्लामा एक महिनाकाे अवधिमा ६ दर्जन बढि आपराधिक घटना दर्ता भएकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा ६५९ सवारीसाधानलाई कारबाही गरिएको थियाे भने विभिन्न घटनामा संलग्न ७६ जना प्रतिवादी पक्राउ गरिएको बताइएकाे छ ।
प्रहरी कार्यालयद्वारा सार्वजनिक विवरणअनुसार एक महिनाकाे अवधिमा दर्ता भएका ७४ वटा सानाठूला आपराधिक घटनामध्ये ४१ मुद्दाको फर्छ्याैट भइसकेको र बाँकी घटनाको अनुसन्धान जारी रहेको बताइएकाे छ ।
उक्त अवधिमा प्रहरीले विभिन्न अपराधमा संलग्न चालु मुद्दाका ७६ प्रतिवादीलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जनाएका छन् । नायब उपरीक्षक विष्टका अनुसार काभ्रेमा केही महिनादेखि आर्थिक–वित्तीय अपराधको ग्राफ बढ्दै गएको छ ।
कार्यालयमा दर्ता भएका मुद्दामध्ये डेढ दर्जन बैंकिङ कारोबारका रहेका छन् भने त्यसबाहेक साधारण चोरी, मोटरसाइकल तथा चौपाया चोरीका एक दर्जन मुद्दा दर्ता भएका छन् । त्यसैगरि सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह र बोक्सीको आरोपसम्बन्धी मुद्दा, जबर्जस्ती करणी तथा करणी उद्योगका गम्भीर मुद्दा दर्ता भएको कार्यालयले जनाएकाे छ ।
त्यस्तै विभिन्न मितिमा सवारी ज्यान मुद्दामा फरार रहेका २० फरार अभियुक्तलाई पक्राउ परेका छन् । गत साउनमा प्रहरीले एक वर्ष चार महिना १५ दिनको कैद सजाय कार्यान्वयन गर्नुका साथै २९ लाख ६९ हजार ९ सय रुपैयाँ जरिवाना असुल गरेको छ ।
त्यस्तै सडक सुरक्षा तथा अवैधधन्दा रोक्न प्रहरीले ६५९ सवारीसाधनलाई कारबाही गर्दा ६ लाख १ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ भने नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न टिपर नियन्त्रणबाट ३ लाख १७ हजार राजस्व दाखिला गराएको बताइएको छ ।
उक्त अवधिमा प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित १०७ भट्टी नष्ट गर्दै १ हजार ३९८ लिटर अवैध घरेलु मदिरा तथा ३ हजार ३५ लिटर कच्चा पदार्थसमेत गरेको छ । आपराधिक घटना न्यूनीकरण गर्न काभ्रे प्रहरीद्वारा सञ्चालित समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइबर अपराध, यौन दुर्व्यवहार, मानव बेचबिखन र लागुऔषधविरुद्ध ९८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त कार्यक्रमबाट १९ हजार ९१३ नागरिकलाई सचेतना गराइएको नायब उपरीक्षक विष्टले जनाएका छन् । उनका अनुसार नागरिकको धनजनको सुरक्षार्थ गस्ती, सरप्राइज चेकिङ तथा प्रविधिको प्रयोगलाई अझ कडाइका साथ अघि बढाइएको बताइएकाे छ ।