आफ्नाे २२ वर्षीय छोराको हत्याको खबर सुनेर बेहाेस भएर ढलेकि आमाकाे पनि मृत्यु भएकाे छ ।
काठमाडौंकाे शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहार गरी छाेराकाे हत्या भएको खबर सुनेर ढलेकी दाङको घोराही उपमहानगरपालिका–१७ की ३८ वर्षीया बिना कालाथोकीको मृत्यु भएकाे हाे ।
काठमाडौं महानगरपालिका–१०, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा २२ वर्षीय छोरा वसन्त कालाथोकीको दुई दिनअघि धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । वसन्त फ्रान्स जाने तयारीका लागि काठमाडौंको होस्टलमा बसेर भाषा अध्ययन गरिरहेका थिए ।
उनको हत्याको खबर घरमा पुगेपछि अचेत भई ढलेकी आमा बिनाकाे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । बिनाको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको शवगृहमा राखिएको छ ।
मृतककाे श्रीमान् रोमहर्श कालाथोकी रोजगारीका क्रममा मलेसियामा रहेका छन् भने घटनापछि उनी सोमबार नेपाल फर्किंने तयारी रहेकाे छ । वसन्तको हत्या आरोपमा प्रहरीले बारा कलैया–३, का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवलाई पक्राउ गरेको छ ।
होस्टलमा बस्दै आएका उनीहरूले वसन्तको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरि कुटपिट गरेकाे प्रहरीको भनाइ रहेकाे छ । घाइते वसन्तलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल, मीनभवन लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको थियाे ।
अहिले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने आमा र दाइकाे निधन पछि घरमा काेहि नभएपछि ११ वर्षीय कान्छा छोरा अहिले हजुरबुवाको साथमा रहेकाे प्रहरीले जनाएकाे छ ।