काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१, सानो वाङ्थलीकी शारीरिक रूपमा अशक्त माइली बिकलाई घरमै नागरिकता उपलब्ध गराइएको छ । गाउँपालिका र वडाकाे समन्वयमा जिल्ला प्रशासन कार्यालयको टोलीले हिजो घरमै पुगेर उनलाई नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ।
शारीरिक अशक्तताका कारण सिडिओ कार्यालय पुग्न नसक्दा उनी नागरिकताविहीन भएर बसेकी थिइनन् । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं र वडा अध्यक्ष सुशिल लामाको पहलपछि सिडिओ कार्यालयबाट प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको नेतृत्वमा खटिएको संयुक्त टोलीले बिकको घरमै पुगेर नागरिकता वितरण गरेको हो ।
घरमै नागरिकता पाएपछि उनले खुशी व्यक्त गरिन् । अशक्त, ज्येष्ठ नागरिक तथा कार्यालयसम्म पुग्न कठिनाइ भएका नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने यस्ता कार्यले नागरिक र राज्यबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने सिडिओ कार्यालयको अपेक्षा रहेकाे बताइएकाे छ ।