भारत सरकारले नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ । लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका उक्त जातकाे उखु एक आयोजित कार्यक्रममा हस्तान्तरण गरेको हो ।
बाराको जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा ती जात नेपालमा भित्र्याइएको बताइएकाे छ । यहाँस्थित भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका चार उन्नत जातका बीउ नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई हस्तान्तरण गरिन् ।
भारतबाट ल्याइएका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढी रहेकाे राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवले जनाएका छन् । ती जातका उखुको प्रवर्धनबाट उखुको गुणस्तर र उत्पादकत्व बढ्नुका साथै किसानको आम्दानी तथा चिनी मिलको उत्पादनमा सुधार हुने अपेक्षा गरिएकाे छ ।
हाल नेपालमा करिब ५३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको भने नेपालमा उखुको औसत उत्पादकत्व प्रतिहेक्टर करिब ५० मेट्रिक टन रहेकाे छ ।