आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु हुँदैछ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा रहेकाे छ ।
चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनसम्मकाे भएकाे छ । मिथिला परम्परामा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्दै घरमा धातुका नयाँ भाँडा वा गरगहना किनेर पूजा गरिने परम्परा समेत रहेकाे छ ।
आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस मनाइने छ भने मिथिला क्षेत्रमा दिन, नक्षत्र, तिथिको निर्क्याेल, चाडबाड, तिथिश्राद्ध र शुभकार्य मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिने प्रचलन रहेकाे छ ।
मिथिला क्षेत्रमा बोलीचालीमा दिवाली भनिने दीपावली पर्वको पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रशन्न गराउन धातुका गहना र भाँडा किनेर घरमा लक्ष्मी स्थापना गरी धनतेरस मनाइने मैथिल परम्परा रहेकाे छ भने घरघरमा दीपमालिका गरेर पर्व प्रारम्भ गरिने परम्परा रहेकाे पाइन्छ ।
आज धातुका सामान, खरेटो, धनियाँसहितका सामग्री धनतेरसका दिन नयाँ किन्ने प्रचलन समेत रहेकाे छ । आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएर भोलि शनिबार बिहान १० बजेर ४७ मिनटसम्म रहने पञ्चाङ्गलाई उद्धृत गर्दै मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जनाएका छन् । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भाेलि शनिबार परेको छ ।
दीपावली पर्व आगामी बुधबार मैथिल परम्पराअनुसार भैयादूज मनाइएर सम्पन्न गरिने छ । पञ्चाङ्ग आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ ।