नेपाल प्रिमियर लिग (एनपिएल) काे तेस्रो संस्करण अन्तर्गत आज दुई वटा खेल हुँदैछ । आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा हुनेछ ।
सुदूरपश्चिम र कर्णालीबीचको खेल मध्यान्ह साढे १२ बजे तथा चितवन र पोखराबीचको खेल साँझ ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । जारी एनपिएलमा कर्णालीले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा मात्र हार व्यहोरेको छ । कर्णाली लगातार दुई जितपछि पछिल्लो खेलमा काठमाण्डु गोर्खाजविरुद्धकाे खेलमा पराजित भएको थियो ।
आज कर्णालीले सुदूरपश्चिमलाई हराएर तेस्रो जित निकाल्ने योजनामा छ भने सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा रहेकाे छ । सुदूरपश्चिमले चार खेल खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको थियाे भने आज कर्णालीलाई हराएर अंक तालिकामा सुधार गर्ने योजनामा रहेकाे छ ।
आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने पोखरा अहिलेसम्म जितविहीन रहेकाे छ । उसले तीन खेल खेल्दा सबै खेलमा हारको सामना गरेको छ । कुशल भूर्तेल नेतृत्वको पोखरा आज चितवनलाई हराएर जितको खाता खोल्ने योजनामा रहेकाे छ ।
चितवन कमजोर देखिएको पोखराविरुद्ध जित दर्ता गरेर प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छ । चितवनले चार खेल खेल्दा दुई खेलमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अंक बाँडेको थियाे ।
जारी संस्करणको एनपिएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् भने फाइनल खेल मंसिर ५ गते हुनेछ ।