नेपालीहरुकाे ठूला चाडहरु दशैँ–तिहार तथा छठ पर्वको बिदा सकिएसँगै भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ । लामाे बिदापछि अस्पतालको ओपिडी सेवा सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको चाप बढेको हो ।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मङ्गलबार मात्रै ओपिडीमा ३ हजार ३ सय जना बिरामीले सेवा लिएकाे बताइएकाे छ । लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक बन्द वा सीमित सञ्चालनमा रहेकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको हाे । हिजाे बुधबार पनि अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको उनको भनाइ रहेकाे छ ।
गत वर्ष २०८२ को कात्तिक महिनामा आकस्मिक, स्वास्थ्य बीमा र सामान्य टिकटमार्फत गरी २९ हजार ४२२ बिरामीले सेवा लिएकामा यस वर्ष सोही अवधिमा ३९ हजार २ सय जनाले सेवा लिएकाे उनकाे भनाइ रहेकाे छ ।
गतवर्ष असोजमा २९ हजार २८१ बिरामीले सेवा लिएका भने कात्तिकमा आकस्मिक सेवामा ६ हजार २५९ बिरामी आएका थिए । यस वर्ष उक्त सङ्ख्या बढेर ७ हजार ४९५ पुगेको बताइएकाे छ । अस्पतालमा आउने बिरामीमध्ये करिब ६० देखि ७० प्रतिशत स्वास्थ्य बीमामार्फत सेवा लिने रहेकाे छन् ।
आन्तरिक मेडिसिन विभागमा दैनिक ३ सयदेखि ४ सयसम्म बिरामी आउने गरेको र कहिलेकाहीँ उक्त सङ्ख्या ५ सयदेखि ६ सयसम्म पुग्ने गरेको पनि उनकाे भनाइ रहेकाे छ । सरकारी अस्पतालमा निजी अस्पतालको तुलनामा उपचार खर्च कम हुनु, स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुनु र अस्पतालले प्रदान गर्ने सेवाप्रति बिरामीको विश्वास बढ्नुले पनि बिरामीको आकर्षण बढेको हाे ।