छिमेकी राष्ट्र चीनकाे भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डल स्वदेश फर्किएको हाे ।
प्रतिनिधिमण्डलले यहि नोभेम्बर १५ देखि २६ सम्म चीनका छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक संवाद गरेको थियो भने उक्त संवादमा दुई दलबीच आपसी समझदारी र आगामी सहकार्यका विषयमा विचार आदानप्रदान भएको रास्वपाले जनाएको छ ।
भ्रमणमा पुगेकाे प्रतिनिधिमण्डलले विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक क्षेत्र र सांस्कृतिक सम्पदास्थलको अवलोकन गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माण, विपद् व्यवस्थापन, नेपाली उत्पादनको चिनियाँ बजारमा पहुँच र नेपालमा लगानीका सम्भावनाबारे छलफल गरेको बताइएकाे छ ।
यता रास्वपाले युवा सीप विकास, पर्यटन, उद्योग, ऊर्जा तथा पूर्वाधारमा चिनियाँ लगानी र विपद् व्यवस्थापनसम्बन्धी छलफललाई ठोस परिणाममा पुर्याउन सम्बन्धित निकाय तथा निजी क्षेत्रसँग पहल गर्ने जनाएको छ ।