रामेछाप। बागमती प्रदेशका माननीय युवराज चौलागाईंको प्रमुख आतिथ्यतामा रामेछापको सुनापति गाउँपालिकामा ‘सुनापति भ्रमण वर्ष–२०८३’, बालमैत्री स्थानीय शासन घोषणा तथा पर्यटन महोत्सवलाई लक्षित गर्दै लगानी तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले गर्नुभएको थियो।
‘धार्मिक आस्था, सांस्कृतिक पहिचान, पर्यटन विकास–सुनापतिको अभियान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा सुनापति गाउँपालिकाको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै स्थानीय आर्थिक समृद्धिको आधार निर्माण गर्ने विषयमा जोड दिइएको थियो।


कार्यक्रममा सुनापति गाउँपालिकालाई पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाभित्र रहेका १९ वटा महत्वपूर्ण पर्यटकीय स्थललाई प्राथमिकतामा राखेर व्यवस्थित पर्यटन सर्किटका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको थियो।
नेपाल सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश सुनापति डाँडा तथा त्यहाँस्थित १०८ लहरे माने, महादेवको विशाल मूर्ति, सेतो मच्छिन्द्रनाथको मूर्ति, लामाटोलस्थित पद्मसम्भव मूर्ति तथा गुम्बा, फलाम पोखरी, धर्मद्वार, पानीघाट युद्ध पार्क, डम्फुडाँडा, चिया बगान तथा लखपति छ्योर्तेन डाँडालगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्ने लक्ष्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा प्रस्तुत अवधारणाअनुसार सुनापतिको पर्यटन विकासका लागि पदमार्ग तथा सिँढी सुधार, पार्किङ, खानेपानी, शौचालय, दृश्यावलोकन स्थल, क्याफे, स्थानीय उत्पादन बिक्री केन्द्र तथा डिजिटल सूचना प्रणालीजस्ता आवश्यक पूर्वाधार निर्माणमा लगानी आवश्यक रहेको औँल्याइएको थियो। साथै सार्वजनिक–निजी साझेदारी अवधारणामार्फत निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, सहकारी, विकास साझेदार र स्थानीय समुदायलाई लगानीका लागि आह्वान गरिएको थियो।
सुनापति डाँडालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा व्यवस्थित विकास गर्ने प्रस्तावसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो। उक्त परियोजनाअन्तर्गत धार्मिक सम्पदाको संरक्षण, पर्यटकीय पूर्वाधार निर्माण, दृश्यावलोकन स्थल, पर्यटक सुविधा तथा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिइने उल्लेख गरिएको थियो। यस परियोजनाबाट प्रत्यक्ष रूपमा १५ देखि २० जना र अप्रत्यक्ष रूपमा २५ देखि ४० जनासम्म रोजगारी सिर्जना गर्ने प्रारम्भिक लक्ष्य राखिएको छ।
पर्यटनसँगै कृषि, स्थानीय उत्पादन, घरेलु उद्योग र उद्यमशीलतालाई समेत सुनापतिको आर्थिक समृद्धिको आधारका रूपमा अघि बढाउने विषयमा जोड दिइएको थियो। गाउँपालिकामा उत्पादन हुने आलु, फलफूल, तरकारी तथा अन्य कृषि उपजलाई व्यावसायिक उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र बजार व्यवस्थापनसँग जोड्न सके स्थानीय किसानको आम्दानी वृद्धि हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
त्यसैगरी ग्रामीण पर्यटन, होमस्टे, होटल तथा रिसोर्ट, साहसिक पर्यटन, स्थानीय खानाका परिकार र सांस्कृतिक पर्यटनको विकासमा निजी क्षेत्रको लगानी भित्र्याउन सकिने सम्भावनासमेत प्रस्तुत गरिएको थियो। सुनापतिलाई पर्यटक घुम्न आउने स्थान मात्र नभई केही दिन बिताउने, स्थानीय उत्पादनको स्वाद लिने र मौलिक संस्कृति अनुभव गर्ने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा पर्यटन विकासका नाममा स्थानीय धर्म, संस्कृति, मौलिक पहिचान र प्राकृतिक सम्पदामा प्रतिकूल असर पर्न नदिनुपर्नेमा विशेष जोड दिइएको थियो। वातावरणमैत्री पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन, जलस्रोत संरक्षण, वृक्षरोपण, विपद् जोखिम न्यूनीकरण तथा नियमित मर्मतसम्भारलाई दिगो पर्यटन विकासका महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिएको थियो।
सुनापति गाउँपालिकाले लगानीमैत्री वातावरण निर्माण, आवश्यक नीतिगत सहजीकरण, पारदर्शी प्रक्रिया, सम्भावित परियोजनाको अध्ययन तथा सार्वजनिक–निजी साझेदारीमार्फत लगानीकर्तासँग समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
यसै अभियानअन्तर्गत गाउँपालिकाले चालु वर्षलाई ‘सुनापति भ्रमण वर्ष–२०८३’ का रूपमा अघि बढाउँदै पर्यटन महोत्सव तथा बालमैत्री स्थानीय शासन घोषणासम्बन्धी कार्यक्रमलाई समेत एकीकृत रूपमा सञ्चालन गर्ने तयारी गरेको छ।
कार्यक्रमले सुनापतिको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र निजी क्षेत्रको लगानी आकर्षित गर्दै समग्र गाउँपालिकाको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सुनापति गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले सुनापतिलाई केवल घुम्ने गन्तव्य मात्र नभई लगानी, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिको सम्भावनायुक्त पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।