कैलाली, सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउन लागेको हो ।
त्यसका लागि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए ।
केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो ।
सोही अनुसार आज कांग्रेसले मुख्यमन्त्रीमा दावी पेस गर्ने छ । उक्त दावीमा एमालेले पनि समर्थन गर्नेछ ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ ।
सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । मुख्यमन्त्रीमा कांग्रेसबाट संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।
त्यसबारे औपचारिक निर्णय गर्न कांग्रेसले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।