Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राष्ट्र बैंकको नयाँ गभर्नर चयनको लिगलिगे दौड सुरु, आकांक्षीहरु शक्तिकेन्द्रसँग निकटता बढाउँदै

- shuvadmin / सोमबार, पुष २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, तात्कालीन नेकपा नेतृत्वको सरकार प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत अन्तिम साता सकिँदैछ ।

गभर्नर अधिकारीको कार्यकाल सकिन ३ महिना बाँकी रहँदा नयाँ गभर्नर बन्ने आकांक्षीले दौडदूध सुरु गरेका छन् । आकांक्षीहरु शक्तिकेन्द्रसँग निकटता बढाउँदै आफू गभर्नर भए देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने ब्रिफिङ गर्न थालेका छन् ।

गभर्नरको लिगलिगे दौडमा हालका डेपुटी गभर्नरहरुसँगै, पूर्वडेपुटीहरु, राष्ट्र बैंककै हाल आसिन र रिटायर्ड कार्यकारी निर्देशकहरु, अर्थविद्हरु, प्रशासकहरु, विभिन्न सरकारी निकायमा कुशल नेतृत्व गरी बाहिरिएकाहरु, सत्तापक्ष निकट विज्ञहरु लागि परेका छन् ।

पछिल्लो समय गभर्नर पदमा आफू समर्थित व्यक्ति पुर्याउन राजीनित दल र स्वार्थसमूह निकै सक्रिय छन् ।

सत्ता समीकरकणबाट आफू बाहिरिँदा पनि स्थायीरुपमा अर्थतन्त्रको एउटा बागडोर सम्हाल्ने भएकाले राज्यका नीति, संरचना र सम्भावित व्यवस्था हेरफेरमा गभर्नर पद फेरो बन्न पुग्छ ।

पछिल्लो समय गभर्नर पद राजनीतिक यात्राको नयाँ पाइला बनेको छ भने सत्तामा विपक्षी दल हुँदा पनि बार्गेन गर्न सक्ने बलियो आधार बनेको छ ।

कानूनी प्रबन्धअनुसार नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि तयार सिफारिस समितिले नेपाल सरकारसमक्ष ३ जनाको नाम सिफारिस गर्नु पर्दछ ।

नाम सिफारिस गर्ने कार्यविधि स्वयं समितिले निर्माण नै गर्छ । आवेदन माग गरेर ३ जनाको नाम छनोट गर्ने कि दाबेदार र सक्षम व्यक्ति सिधै पहिचान गरेर मन्त्रिपरिषदमा नाम पठाउने भन्ने अधिकार समितिलाई नै दिइएको हुन्छ ।

समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने ३ नाममध्ये एकजना केन्द्रीय बैंकका २ डेपुटी गभर्नरमध्ये १ हुनैपर्ने व्यवस्था छ ।

गभर्नर नियुक्तिको पछिल्लो सिलसिला केलाउने हो भने डा.युवराज खतिवडा कार्यकारी निर्देशक र अधिकारी केन्द्रिय बैंकको डेपुटी गभर्नर भइसकेका व्यक्ति हुन् ।

खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहँदा रहँदै गभर्नर बनेका हुन् भने अधिकारीलाई लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत रहेका बेलै गभर्नरमा नियुक्ति दिइएको हो ।

डा. चिरिञ्जिवी नेपालमात्रै राष्ट्र बैंकको अनुभव नभएका गभर्नर हुन् ।

अधिकारीले तात्कालीन डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र पूर्वसचिव केशव भट्टराईलाई पछि पारेका थिए । डा. नेपाल गभर्नर बन्दा तत्कालीन डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र अधिकारीलाई उछिनेका थिए ।

पछिल्ला उदाहारण हेर्ने हो भने सत्तापक्ष र त्यसमा पनि प्रधानमन्त्री जुन राजनीतिक दलका हुन् सोही दलबाहेकका व्यक्ति गभर्नर बनेका छैनन् ।

खतिवडालाई तात्कालीन नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारले, नेपाललाई नेपाली कांग्रेसका तात्कालीन सभापति सुशील कोइराला र अधिकारीलाई तात्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा गभर्नर बनाइएको हो ।

गभर्नर छनोट समिति अर्थमन्त्रीको संयोजकत्वमा बन्छ । समितिमा राष्ट्र बैंकका एक पूर्वगभर्नर र एक विज्ञ सदस्य हुन्छन् ।

सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिनाअघि नै सिफारिस समिति बन्छ । राष्ट्र बैंक ऐनमा त स्पष्टै सामान्यताः एक महिना अगावै गभर्नर नियुक्त गरी सोको सार्वजनिक सूचना प्रकाशन गरिसक्ने उल्लेख छ ।

तर, पछिल्लो समय अन्तिम घडीमा मात्र गभर्नर नियुक्त गर्ने परम्परा बसेको छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्चनैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

३ मध्ये एकजना डेपुटी गभर्नर हुनैपर्ने भएकाले बमबहादुर मिश्र वा नीलम ढुंगाना तिम्सिनाको नाम सिफारिस सूचीमा पर्ने पक्का छ अर्थात् दुवै डेपुटी गभर्नर पनि सिफारिसमा पर्न सक्छन् ।

डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र र नीलम ढुंगाना तिम्सिना यो सूचीको शीर्ष स्थानमा पर्छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक बनेको केही समयमै डेपुटी गभर्नरमा उक्लिएका मिश्र प्रधानमन्त्री केपी ओलीका छिमेकीमात्रै होइनन् नेकपा एमाले निकटसमेत हुन् ।

तीक्ष्ण बुद्वि भएका मिश्र चतुर खेलाडीसमेत हुन् । उनी प्रधानमन्त्रीको गृहनगर दमककै भएकाले उनी गभर्नरको बलियो दाबेदार हुन् ।

डेपुटी गभर्नर ढुंगानाको निकटता पनि एमालेतिरै छ । ढुंगानाका पति विष्णुप्रसाद तिमल्सिना प्राध्यापक संघको राजनीति गर्छन् । नीलम स्वयं पनि एमाले नेतृत्वहरुको निकटमा छिन् ।

महिला भएको नाता जोड्दै पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँग भेटिरहन्छिन् । वित्तीय स्थायित्वमा जोड दिँदै कन्जरभेटिभ अर्थशास्त्रीको पहिचान बनाएकी ढुंगाना कांग्रेस परिवारकी छोरी हुन् ।

अहिलेका प्रधानमन्त्री ओली महिलालाई नेतृत्वमा लैजानुपर्छ भन्नेमा निकै उदार छन् । तसर्थ ढुंगानालाई आगामी गभर्नरका लागि निकै शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ ।

रवीन्द्र पाण्डे नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक तथा वर्तमान सञ्चालक पनि हुन् । नेपाली कांग्रेस निकट पाण्डेलाई पनि सम्भावित उम्मेदवार मानिएको छ ।

गभर्नर कांग्रेसको भागमा परेको खण्डमा कांग्रेसले उनलाई पनि अघि सार्न सक्ने सम्भावना छ । राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र डा.गुणाकर भट्ट गभर्नरको रेसमा निकै अगाडि छन् ।

श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेल निकट छन् । उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य छन् । पौडेल र पोखरेलको त्यति नजिक भएपनि श्रेष्ठ विगतमा डेपुटी गभर्नर बन्न सकेका थिएनन् ।

अर्थशास्त्रको राम्रो ज्ञाता भएका श्रेष्ठ यस पटक भने बलियो दाबेदार हुन् । अर्का कार्यकारी निर्देशक डा. भट्ट सुदुरपश्चिमका हुन् ।

गभर्नर कांग्रेसको पोल्टामा आए भेगीय नाताका कारण कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टलाई गभर्नर बनाउने सम्भावना उच्च रहेको बताइन्छ ।

अर्थशास्त्रको राम्रो ज्ञान भएका उनी सालिन र नम्र स्वाभावका छन् । गभर्नर बन्ने चर्चामा दुई बैंकर पनि छन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र प्रभु बैंकका सीईओ अशोक शेरचन पनि गभर्नरका आकांक्षी हुन् । ढुंगाना नेपाली कांग्रेस निकट हुन् । कांग्रेस नेताहरुसँग ढुंगानाको राम्रो निकटता छ ।

देशका एकमात्र खर्बपति तथा नेपाली कांग्रेसका सांसदसमेत रहेका बिनोद चौधरीको मुख्य लगानी रहेको नबिल बैंकको सीईओ र तेह्रथुमका कांग्रेस पूर्वजिल्ला सभापति गोबिन्द ढुंगानाका भाइ हुन् उनी ।

यतिमात्रै होईन ढुंगाना राष्ट्र बैंककै क्याडर पनि भएकाले नियामक निजी क्षेत्र र पोलिटिकल इकोनोमी राम्रोसँग बुझेका छन् ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनी प्रष्ट वक्ता हुन् भने निर्णय क्षमतामा अब्बल मानिन्छन् । ढुंगाना बैंकर्स संघका पूर्वअध्यक्ष पनि हुन् ।

अर्का बैंकर शेरचन पनि गभर्नर पदका आकांक्षी हुन् । एमाले निकट शेरचन प्रभु बैंकका सीईओ हुन् । फाइनान्स कम्पनीलाई विकास बैंक हुँदै वाणिज्य बैंक बनाउन सफल शेरचन चतुर खेलाडी हुन् ।

भावी दिनमा एमालेबाट सांसदको टिकट लिएर राजनीतिमा होमिने सोच बनाएका शेरचनको एमालेका उच्च तहका नेताहरुसँग सिधै पहुँच छ ।

साथै उनी कांग्रेस र माओवादीका नेताहरुसँग पनि निकट छन् । तसर्थ उनी पनि गभर्नरका बलिया दाबेदार हुन् । गभर्नर बन्ने रेसमा अगाडि रहेका अर्का पात्र हुन्, सुशील भट्ट ।

भट्ट लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका पुर्वसदस्य तथा नेपाल व्यवस्थापन संघका पूर्वअध्यक्ष पनि हुन् ।

इन्जिनियर भट्ट व्यवस्थापनमा अब्बल मानिन्छन् । पछिल्लो समय ठूलो शक्तिकेन्द्र बन्न सफल व्यवसायी दीपक भट्ट सुशीलका भाई हुन् ।

पूर्वअर्थसचिव डा‍ राजन खनाल, पूर्वसचिव केशव भट्टराईलगायत केही प्रशासक पनि गभर्नरको रेसमा रहेको चर्चा सुनिएको छ । भट्टराई यसअघि पनि गभर्नरका लागि सिफारिसमा परेका थिए ।

राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर चिन्तामणी शिवाकोटी हाल केन्द्रीय बैंकका सञ्चालक पनि हुन् ।

उनले डेपुटी गभर्नर भएका बेलै गभर्नर बन्ने ठूलो आकांक्षा राखेका थिए । ओली निकट शिवाकोटी पनि दावेदारका रुपमा छन् ।

Page Views: 62
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama