सरकारी कर्मचारीका एक दर्जन ट्रेड युनियन खारेज भएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज सूचना जारी गर्दै निजामती कर्मचारीका आठ र स्वास्थ्यकर्मीका चार वटा ट्रेड युनियन खारेज गरिएको जानकारी दिएको छ ।
‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को आधार ती ट्रेड युनियन खारेज गरिएको विभागले जनाएको छ । विभागका अनुसार निजामती कर्मचारीका ट्रेड युनियनहरु नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मंच, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल खारेज भएको छ ।
यस्तै, स्वास्थ्यकर्मीका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको दर्ता खारेज गरिएको छ । विभागले भनेको छ, ‘उल्लेखित सम्पूर्ण राष्ट्रियस्तरको निजामती कर्मचारीहरुको ट्रेड युनियन र राष्ट्रियस्तरको स्वास्थ्य सेवाका कर्मचारीहरुको ट्रेड युनियन संवत् २०८३ सालको अध्यादेश नं.०७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को आधारमा यस विभागको पञ्जिकाधिकारीको मिति २०८३–०१–२३ गतेको निर्णयबाट खारेज भएको जानकारी गराइन्छ ।’