आगामी सेप्टेम्बर २३ तारिक देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले पोखरा-दुबई-पोखरा रुटमा दैनिक उडान गर्ने भएको छ । सन् २०२३ को जनवरी १ मा उद्घाटन भएर अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको विमानस्थलबाट सेप्टेम्बर २३ देखि दैनिक उडान हुने भएकाे हाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यहि जुन ८ मा फ्लाई दुबईको उडान तालिका स्वीकृत गरेको र तोकिएको मितिदेखि दैनिक उडान सुरु हुने जानकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले दिएकाे छ । उडान अनुमति दिनुअघि फ्लाई दुबईको प्राविधिक टोलीले पोखरा विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बद्ध पक्षको विस्तृत निरीक्षण गरेको थियो ।
उक्त विमानस्थलबाट यसअघि सन् २०२५ मा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा-ल्हासा नियमित व्यावसायिक उडान सुरु गरेपनि उक्त उडान धेरै समय टिक्न सकेन । हालसम्म छिमेकी देशहरूका केही ‘चार्टर’ उडानबाहेक नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल आन्तरिक उडानमा सीमित रहेकाे थियो ।
पर्यटकीय राजधानीसमेत रहेको पोखरामा अन्तर्राष्ट्रिय हवाई सञ्जाल जोडिए ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने सम्भावना रहेकाे छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईले उडान अनुमति पाएसँगै पाेखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा ठूलो प्रगति भएको बताएका छन् ।
उनले दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप र अफ्रिकालगायत विश्वका ३ सय भन्दा बढी शहरसँग पोखरा सिधै जोडिने बताए ।