बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारेको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसारसहकारी संस्थाहरूको अनुगमन, सुपरीवेक्षण र वित्तीय अनुशासनका लागि बजेट व्यवस्था गरिएको बताइएकाे छ । सार्वजनिक स्थलहरूमा सिसीटिभी क्यामरा जडान गरी डिजिटल क्राइम ट्र्याकिङ सिस्टम विकास गरिने पनि बजेटमा उल्लेख गरिएकाे छ ।
त्यसैगरि बजेट मार्फत लागुऔषध दुरूपयोग, मानव बेचबिखन र साइबर अपराध न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान सञ्चालन गरिने र बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण, विपद् स्वयंसेवक परिचालन र विपद् बीमा कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री तामाङले जनाएका छन् ।
त्यस्तै सवारी साधनको चाप बढी हुने स्थानहरूमा ट्राफिक लाइट जडान र प्रदेशका मुख्य नाकाहरूमा स्मार्ट चेकपोस्ट स्थापना गरिने पनि प्रदेश सरकारले जनाएको छ ।