नेपालकाे आफ्नै सुरुङमार्गमा गाडी चलाउने नेपालीको बर्सौँदेखिको सपना पूरा भएको छ । बहुप्रतीक्षित मुलुकको राष्ट्रिय गौरवको आयोजना नागढुङ्गा सुरुङमार्गको हिजाे उद्घाटन भएसँगै पूर्वाधार विकास क्षेत्रमा नेपालले नयाँ फड्काे मारेको छ ।
धादिङको सिस्नेखोला र काठमाडौँको बलम्बुसम्मको सुरुङमार्गकाे उद्घाटनसँगै नेपाल आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको हाे । उकत् सुरुङमार्ग सञ्चालनपछि नागढुङ्गा हुँदै राजधानी भित्रिने र बाहिरिने यातायातले खेप्नुपर्ने पट्यारलाग्दो जाम अन्त्य हुने भएकाे छ । धेरै घुम्ती र पहिरोको जोखिममा रहेकाे थानकोट–नागढुङ्गाको एक घण्टाभन्दा लामो यात्रा केही मिनेटमै पूरा हुने छ ।
यसअघि ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गतेदेखि निर्माण सुरु गरिएको उक्त सुरुङमार्ग विभिन्न समस्याका कारण ८० महिनापछि सञ्चालनमा आएको हो । राष्ट्रिय गौरवको आयोजना सुरुङमार्ग संचालनमा आएसँगै काठमाडाैँ-धादिङ जाेड्ने छाेटाे दुरीकाे यात्रा बन्ने भएकाे छ ।
हिजाे साउन ११ गते पूजाआजा र स्वस्ति वाचनसँगै बिहान साढे १० बजेको शुभसाइतमा रिबन काटेर सुरुङमार्ग उद्घाटन गरिएकाे थियाे । उद्घाटन क्रममा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले पानसमा दीप प्रज्ज्वलित गरेका थिए । मन्त्री लाम्सालसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. नाताका अकिहितो, नेपालका लागि जापानका राजदूत माइदा तोरू र सुरुङमार्ग निर्माणमा संलग्न ६३ वर्षीय श्रमिक पूर्ण जोशीले एकसाथ रिबन काटेर सुरुङमार्ग उद्घाटन गरेका हुन् ।
यसअघि मन्त्री लम्सालले जापान–नेपाल मित्रता र सहयोगको प्रतीकका रूपमा स्थापित शिलालेख अनावरण गरेका थिए । उद्घाटन सम्पन्न भएको प्रतीकका रूपमा स्थापित ताम्रपत्रको अनावरण गर्दै सञ्चारकर्मीसँग मन्त्री लम्सालले अब मुलुक आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको र यस्ता सुरुङमार्ग मुलुकको विभिन्न भागमा निर्माण गरिने बताएका थिए ।
उक्त उद्घाटन कार्यक्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. नाताकाले नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको स्मरण गर्दै नागढुङ्गा सुरुङमार्ग परियोजनालाई पारस्परिक विश्वास र दीर्घकालीन मित्रताको जीवन्त प्रतीकका रूपमा व्याख्या गरेका थिए ।