पछिल्लाे समय मधेस प्रदेशसहित देशका विभिन्न स्थानमा देखिएको संवेदनशील परिस्थितिका बीच सर्लाहीको सदरमुकाम मलंगवामा धार्मिक तथा साम्प्रदायिक सद्भाव र्याली आयोजना गरिएको छ । “धार्मिक, जातीय तथा सामाजिक एकताका लागि सद्भाव र्याली” भन्ने मूल नारासहित र्याली आयोजना गरिएको हाे ।
आज मलंगवा नगरपालिकाको नेतृत्वमा आयोजित र्यालीमा हिन्दु र मुस्लिम समुदायका धर्मगुरु, समुदायका अगुवा तथा सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो । शान्ति र संयम अपनाउन आग्रहसहित र्यालीमा सहभागीहरूले आपसी भाइचारा, सहअस्तित्व र सामाजिक एकताको सन्देश दिएका थिए ।
उक्त सद्भाव र्यालीमा सहभागीहरूले समाजमा शान्ति, सद्भाव र पारस्परिक सम्मान कायम राख्न सबै समुदायले संयमता अपनाउनुपर्नेमा जोड दिएका थिए । पछिल्ला घटनाक्रमलाई लिएर फैलिन सक्ने अफवाह, उत्तेजनात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहन सबैमा आग्रह गरिएको छ ।