यसवर्षकाे बडादशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । काठमाडाैँमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन् ।
काठमाडौँ उपत्यकाका विभिन्न नाका हुँदै विभिन्न जिल्लामा जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल ह्वात्तै बढेको हाे । दशैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढ्न थालेकाे हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले दशैँ मनाउन काठमाडौँका विभिन्न नाका हुँदै हिजाे सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा ५६ हजार ८०९ यात्रु बाहिरिएको जनाएका छन् ।
जसअनुसार फर्पिङ नाकाबाट ५ हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरीएका छन् ।
दशैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या देखिएकाे छ । यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको बताएका छन् ।
असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताएका छन् ।