पछिल्लाे समय बाढीपहिरोका कारण गण्डकी प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, नवलपरासी पूर्व र गोरखाका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएकाे हाे ।
नेपाल प्रहरीले आज सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशअन्तर्गत तीन जिल्लाका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक आवागमन प्रभावित भएको बताइएकाे छ । यता म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीमा बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा छ ।
त्यसैगरि नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३, जन्ती पहिरोमा कालिगण्डकी करिडोर पनि प्रभावित भएको छ । उक्त सडकखण्डमा ठूला गाडी सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ ।
बूढीगण्डकीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल र गोरखा–आरुघाटबाट धादिङ जोड्ने नयाँपुल पूर्ण रूपमा क्षति पुर्याएका कारण सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।