आज बिहान जाजरकोटको जुनिचाँदे गाउँपालिका–२, गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप बिहान करिब २ बजेतिर अनियन्त्रित भई सडकबाट तीन सय मिटर तल खसेको हो ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक जुनिचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र सोही गाउँपालिका–३, कि ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जुनिचाँदे–३, का ३० वर्षीय दिलबहादुर भण्डारी, उनका ४ वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएकाे बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घाइतेहरूको टाउको, छाती, घाँटी, हात र ढाडमा चोट लागेको र उनिहरुकाे अवस्था मध्यम रहेको बताइएकाे छ ।
घाइतेहरूलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।