काभ्रेपलाञ्चोकको चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु भएको छ । चौंरीदेउराली गाउँपालिका–६, नयाँबस्तीमा आज खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गरिएको हो ।
युवा क्लबद्धारा आयोजित उक्त प्रतियोगितामा बागमती प्रदेशका पुर्वमन्त्री रत्न ढकाल प्रमुख अतिथि तथा काभ्रे जिल्ला समन्वयसमिति अध्यक्ष दिपक गाैतम, गाउँपालिका प्रमुख रेणुका चौलागाईं, वडा नम्बर ६, का वडाध्यक्ष किशोरराज गिरीलगायत अतिथिका रुपमा सहभागी भएका थिए ।

प्रतियोगितामार्फत खेलकुदको विकास, स्थानीय प्रतिभाको पहिचान तथा युवाबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ ।
खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सक्रिय बनाउनुका साथै स्थानीयस्तरमा खेलकुद संस्कृतिको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
यस्ता प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन गर्न र खेलकुदप्रति युवाको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।