श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ हुम्ला पुगेका छन् । हुम्लाकाे अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष साम्पाङ हुम्ला पुगेका हुन् ।
कार्यक्रममा बाेल्दै अध्यक्ष साम्पाङले राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवा र सुविधा सहर केन्द्रित भएकाे र यसैका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको बताएका छन् । त्यस्तै नागरिकलाई समयअनुसारका आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके मानिसहरू जुनसुकै ठाउँमा पनि बस्न सक्ने उनको भनाई रहेकाे थियो।
त्यसैगरि अध्यक्ष साम्पाङले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए भने साम्पाङको भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माणसँग जोडिएको बताइएको छ ।
उक्त स्थानमा स्थानीय नागरिक जोखिम मोलेर तुइनको सहायताले नदी पार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनले झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त स्थानमा झोलुङ्गे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थाबाट काम अघि बढ्ने प्रक्रिया तय भइसकेको छ ।
यस्तो अवस्थामा पुल निर्माणको वास्तविक अवस्था, काम सुरु हुने समय र स्थानीयले तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ । दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा आधारभूत सेवाको अभावले नागरिकले वर्षौँदेखि विभिन्न समस्या झेल्दै आएका छन् ।