काठमाण्डू, नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ पत्रकार तथा नेपाली कांग्रेसका नेता होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ ।
केही समयदेखि अस्वस्थ रहेका दाहालको २०८२ पुस २५ गते साँझ उपचारका लागि वीर अस्पताल पुर्याउँदै गर्दा निधन भएको हो ।
ओखलढुङ्गा जिल्लाबाट पूर्वसांसद तथा पूर्व मन्त्रीसमेत रहेका दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हुन् ।
बीपी कोइरालाको विचार र लोकतान्त्रिक सिद्धान्तका सच्चा अभियन्ताका रूपमा परिचित उनले नेपाली पत्रकारिता र प्रजातन्त्र स्थापनाको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।
उनी पञ्चायतकालमा प्रेस स्वतन्त्रताका लागि संघर्ष गर्ने क्रममा पटक(पटक जेल समेत परेका थिए ।
स्वर्गीय दाहालका दुई छोराहरू डा. सुधाम्शु दाहाल र हिमाम्सु दाहाल छन्। उनकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमै उपचाररत रहेकी पारिवारिक स्रोतले जनाएको छ ।
दाहालको पार्थिव शरीरलाई आज बिहान ७ बजेदेखि ९ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि मैतीदेवी नजिकै धोबीखोला किनारमा रहेको उनको निजी निवासमा राखिनेछ ।
त्यसपछि बिहान ९:३० बजे पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गरी अन्तिम संस्कार गरिने कार्यक्रम रहेको जनाइएको छ ।