आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ भने बैठकमा सभामुख अर्यालले बाढीका कारण भएको व्यापक जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्ने कार्यक्रम रहेकाे छ ।
यहि भदौ १० गते आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
बैठकले उक्त बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै, घटनामा घरबारविहीन भएकाहरूको शीघ्र व्यवस्थापन तथा घाइतेहरूको उपचारको व्यवस्था गर्ने तयारी गरिएको छ ।
त्यस्तै आजै दुई संसदीय समितिका बैठक पनि बस्दैछन् । बिहान साढे ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको असरबारे छलफल हुनेछ ।
त्यसैगरी सवा १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।