मुलुकमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीनवटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुने गरि तयारी अवस्थामा राखिएकाे हाे ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले मनसुनी विपद्मा हुने सबै तयारी गरिएको र राष्ट्रिय प्रतिकार्ययोजनासमेत तयार पारी लागू भइसकेको बताउँदै निकायहरूलाई जिम्मेवारी तोकिइसकेको बताएकी छन् । उनले मनसुनी विपद्का बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका सात हजार ५२४, नेपाल प्रहरीका १० हजार ५८५ र सशस्त्र प्रहरीबाट १३४ गोताखोरसहित आठ हजार ११० जना तयारी अवस्थामा राखिएको समेत जानकारी गराएकी छन् ।
तयारि अवस्थामा रहेका जनशक्ती आवश्यकताका आधारमा ७७ वटै जिल्लामा खोज तया उद्धारका लागि तयार पारिएका जनशक्ति हुन् । यसबाहेक पनि आवश्यकताका आधारमा हरेक जिल्लामा रहेका जनशक्तिहरु परिचालन हुने जनाइएको छ ।
प्राधिकरणले यसपालि मनसुनजन्य विपद्बाट देशभर ५१ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ । यता जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने आकलन गरेको छ भने सोही आधारमा प्रभावितको सङ्ख्या अनुमान गरिएको हाे भने कम वर्षाले पनि निश्चित क्षेत्रमा असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।