नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमोनिया संक्रमण देखिएपछि केहि दिन अस्पतालमा बस्नुपर्ने देखिएकाे छ । संयोजक प्रचण्डले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइ रहेका छन् ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रचण्डलाई निमोनिया संक्रमण देखिएको जनाएको छ । भनिएको छ, ‘हाम्रो मेडिकल टोलीले गरेको मूल्यांकनमा उहाँलाई हल्का निमोनिया संक्रमण भएको पाइयो, जसको लागि आवश्यक अनुसन्धान र उपचार शुरु गरिएको छ ।’
प्रचण्डको अवस्था स्थिर रहेको र केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा रहने अस्पतालको भनाइ छ । ‘सावधानी अपनाउन र पूर्ण स्वास्थ्यलाभ सुनिश्चित गर्न उहाँ निरन्तर निगरानी र चिकित्सा हेरचाहको लागि अर्को २–३ दिन अस्पतालमा भर्ना रहनुहुनेछ,’ विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।