पछिल्लाे समय वर्षा, बाढी, पहिरो तथा सडक मर्मतका कारण केहि मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार केही प्रमुख सडक खण्डहरू पूर्णरूपमा बन्द रहेका छन् भने केही स्थानमा एकतर्फीमात्र सवारी सञ्चालन भइरहेका छन् ।
बन्द भएका सडक तथा राजमार्गहरुमा काठमाडौँ र मकवानपुर जोड्ने दुई महत्वपूर्ण वैकल्पिक सडकहरू मर्मतका लागि लामो समय बन्द रहने भएका छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–९, देउराली देविस्थानस्थित सतुङ्गल–चित्लाङ सडक खण्ड र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक खण्ड मर्मत कार्य भइरहेकाले एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको हाे ।
त्यसैगरी बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै कोशी प्रदेशका दुई जिल्लामा मध्य पहाडी लोकमार्ग प्रभावित भएका छन् । भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङवरक गाउँपालिका–२, दोभानमा बाढीका कारण सडकमा क्षति पुगेको छ । हाल उक्त स्थानमा सडक एकतर्फी मात्र संचालनमा छ भने भोजपुरमा वैकल्पिक बाटोको प्रयोग गर्न सकिने जानकारी दिइएको छ ।
त्यस्तै रोल्पामा पहिरोका कारण यातायात सेवा ठप्प भएको छ । परिवर्तन गाउँपालिका–१, बाङ्गास्थित सहिद राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध हुँदा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
