Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’

- शुभ बिहानी / शनिबार, असार २७, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

-बेल बहादुर बिश्वकर्मा

नेपालको प्राकृतिक सम्पदाले संसारभर परिचय बनाइरहेको बेला कास्कीको मादी गाउँपालिका–७ नयाँ गाउँमा अवस्थित ‘सोझो कुनाको झरना’ भने ओझेलमा छ । प्रचारप्रसारको अभावले गर्दा सो ठाउँको प्रवर्द्धन हुन सकेको छैन । प्राकृतिक सौन्दर्यता, धार्मिक आस्था, ऐतिहासिक किवंदन्ती र भूगर्भीय रहस्य एकै स्थानमा रहेको यो क्षेत्र उचित संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको अनुपम गन्तव्य हो ।

पोखरा महानगरपालिका–१३, काहुँखोलाबाट मादी गाउँपालिकाको उत्तरतर्फ सिक्लेस जाने सडक हुँदै मेलबोट चोक पुगिन्छ । त्यहाँबाट मध्यपहाडी लोकमार्ग हुँदै नयाँ गाउँतर्फ करिब तीन किलोमिटर यात्रा गरेपछि गोरेटो बाटोबाट सहजै सोझो कुनाको झरनासम्म पुग्न सकिन्छ । सडकको पहुँच विस्तारसँगै यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या विस्तारै बढ्न थालेको स्थानीयवासीहरू बताउँछन् ।

घना वनको काखमा अवस्थित यो झरना केवल मनोरम दृश्यको स्रोत मात्र होइन, स्थानीय समाजको आस्था र विश्वासको केन्द्र पनि हो । झरनाको आसपास रहेको विशाल ओडारलाई दैवी शक्तिको बासस्थान मानिन्छ । पुस्तौंदेखि सुनिँदै आएको किंवदन्तीअनुसार वर्षौंदेखि पानी नपरेर खडेरी परेको समयमा स्थानीय धामी–झाँक्रीहरूले यही स्थानमा विशेष पूजा गरी पानीको कामना गर्दा सोही साँझ वर्षा भएको थियो ।

यसै कारण यो स्थानलाई स्थानीय समुदायले अत्यन्त पवित्र तीर्थस्थलका रूपमा पूजाआजा गर्दै आएका छन् । स्थानीय बुढापाकाका अनुसार प्राचीन समयमा ऋषिमुनिहरूले यही क्षेत्रमा तपस्या र बसोबास गरेका थिए । त्यसैले यो क्षेत्र प्राकृतिक सम्पदासँगै धार्मिक र सांस्कृतिक इतिहास बोकेको स्थलका रूपमा समेत परिचित छ ।

झरनाको अर्को विशेषता यसको अद्भुत प्राकृतिक बनावट हो । वरिपरि रहेका चुनढुंगाले समयसँगै निर्माण गरेका अनौठा आकृतिहरूले आगन्तुकलाई सहजै मोहित बनाउँछ । खोला पारिपट्टि देखिने परापूर्वकालमा प्रयोग गरिने ढिकी, जाँतो तथा गाईको थुनबाट पानी चुहिएजस्तो देखिने प्राकृतिक ढुंगाका आकृतिहरू यहाँका दुर्लभ दृश्य मानिन्छन् ।

प्रकृतिले आफैं कुँदेजस्ता यी आकृतिहरू भूगर्भीय अध्ययनका दृष्टिले समेत विशेष महत्व राख्ने देखिन्छ । अझ रोचक पक्ष के छ भने, झरनाको भित्र ढुंगाको चेपबाट निरन्तर तातो पानी बगिरहन्छ । चिसो झरनाको बीचमा तातो पानीको प्राकृतिक स्रोत देख्न पाइने यो अनौठो दृश्यले यहाँ आउने अधिकांश पर्यटकलाई आश्चर्यचकित बनाउने गरेको छ ।

यसबारे वैज्ञानिक अध्ययन हुनसके यसको वास्तविक कारण र महत्व अझ स्पष्ट हुन सक्ने जानकारहरू बताउँछन् । सोझो कुनाको झरना धार्मिक पर्वहरूसँग पनि गहिरो रूपमा जोडिएको छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन स्थानीयवासीहरूले यहाँ भेला भई विशेष पूजाआराधना गर्छन् । पवित्र स्नान गर्ने, तरुल, चिउरा, फलफूल तथा अन्य प्रसाद चढाउने परम्परा पुस्तौंदेखि निरन्तर चल्दै आएको छ ।

यस अवसरमा गाउँभरि धार्मिक उत्साह छाउने र टाढाटाढाबाट समेत श्रद्धालुहरू आउने गरेका छन् । प्राकृतिक सुन्दरताले भरिएको यो क्षेत्र चारैतिर हरियाली वन, चिसो हावा र शान्त वातावरणले घेरिएको छ । झरनाको आसपास रहेका गाउँहरूमा पुग्ने पर्यटकले स्थानीय उत्पादनको स्वाद पनि लिन सक्छन् । ताजा मह, दूध, घिउ, मौसमी फलफूल तथा गाउँघरका परम्परागत परिकार यहाँ सहज रूपमा उपलब्ध हुने भएकाले ग्रामीण पर्यटनको उत्कृष्ट अनुभव लिन सकिन्छ ।

स्थानीयको आत्मीय आतिथ्यले आगन्तुकलाई थप आकर्षित गर्ने गरेको छ । यति धेरै प्राकृतिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको सोझो कुनाको झरना अझै पनि पर्यटकहरुको मुख्य गन्तव्यमा पर्न सकेको छैन । सम्बन्धित निकायले आवश्यक पूर्वाधार निर्माण, संरक्षण, वैज्ञानिक अध्ययन र प्रभावकारी प्रचारप्रसारमा ध्यान दिन सके यो स्थल कास्की जिल्लाको मात्र होइन, गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने पर्याप्त सम्भावना छ ।

प्रकृतिले उदारतापूर्वक दिएको यो अनुपम उपहारलाई संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउनु स्थानीय समुदाय, सरोकारवाला निकाय र राज्य सबैको साझा दायित्व हो । समयमै यसको महत्व पहिचान गर्न सके, सोझो कुनाको झरना नेपालको पर्यटन नक्सामा नयाँ पहिचान बनाउने अर्को गौरवपूर्ण गन्तव्य बन्नेमा दुईमत छैन ।

Page Views: 12
संबन्धित शिर्षकहरु
सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama