आज दिउँसो प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै छन् । प्रधानमन्त्री शाह पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नेछन् । प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आजै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकाे छ भने भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरि दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । त्यस क्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) पनि आदानप्रदान गरिनेछन् । त्यसबाट दुवै देशका प्राथमिकता प्राप्त क्षेत्रमा आपसी सहकार्य अझ विस्तार हुनेछ ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनुका साथै नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र व्यवसायी समुदायका चासो तथा सरोकारहरू सुन्ने तथा नेपाल सरकारका तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्न अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ ।
प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत रहनेछन् ।
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी भोलि सोमबार साँझ साढे ६ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।