पछिल्लाे समय ग्यास बिक्री-वितरणमा अनियमितता भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ग्यास बिक्री-वितरणमा व्यवसायीलाई कानुनअनुसार मात्र कारोबार गर्न निर्देशन दिएको छ । प्रशासनले एक अत्यन्त जरुरी सूचना जारी गर्दै पहुँच वा चिनजानका आधारमा ग्यास बिक्री-वितरण गर्ने तथा सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न चेतावनी दिएको हो ।
प्रशासन कार्यालयले विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने डिपो, पसल तथा कम्पनीहरूले उद्योग वा डिलरबाट ग्यास ल्याएर सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनुको सट्टा पहुँच र चिनजानका आधारमा सीमित व्यक्ति, होटेल तथा व्यवसायीलाई मात्र बिक्री गर्ने गरेको गुनासो प्राप्त भएको बताएकाे छ ।
त्यस्ता गतिविधिमाथि जिल्ला प्रशासन कार्यालय तथा अधिकारप्राप्त निकायहरूले नियमित अनुगमन गरिरहेको र अनुगमनका लागि सादा पोसाकमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको कार्यालयले जनाएको छ ।
ग्यास सिलिन्डर लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा पहुँचका आधारमा बिक्री–वितरण गर्ने जस्ता कानुनविपरीतका गतिविधिमा संलग्न पाइए सम्बन्धित व्यक्ति वा व्यवसायीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएकाे छ ।
त्यस्ते जिल्ला प्रशासन कार्यालयले अवैध गतिविधिमा प्रयोग भएका ग्यास सिलिन्डरसमेत जफत गरिने चेतावनी दिँदै सबै व्यवसायीलाई कानुनको पालना गर्न आग्रह गरेको छ ।