काठमाडौं उपत्यकाकाे आधा दर्जन रुटमा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार गरिएको छ । संविधान दिवसको अवसर पारेर काठमाडौं उपत्यकामा थप ६ रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार गरिएको हाे ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि सुरु गरिएको रात्रिकालीन सेवा हाल दुईवटा रुटमा मात्र सीमित रहेकाे थियो । अब उक्त सेवा विस्तार गरी उपत्यकाका विभिन्न क्षेत्र समेटिने गरी थप रुटहरूमा बस सञ्चालन गर्न लागिएको हो ।
त्यस्तै यसअघि नै सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट रुटमा ४ वटा र लगनखेल–बुढानीलकण्ठ रुटमा ३ वटा बसहरूलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।
उक्त रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन् भने यात्रुको चाप र आवश्यकताका आधारमा समय र बसको संख्यामा थप समायोजन गर्न सकिने कम्पनीले जनाएको छ ।
नयाँ र विस्तारित रुट र बस संख्या यसप्रकार रहेकाे छ :
बुढानीलकण्ठ–गोदावरी : ६ वटा बस
जगाती–रत्नपार्क–ठमेल : ६ वटा बस
चक्रपथ परिक्रमा (दुवैतर्फ) : ८ वटा बस
विमानस्थल–नागढुंगा : ४ वटा बस
कीर्तिपुर–जमल : ४ वटा बस