अहिले मुलुकभर मनसुनी वायु र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभरकाे माैसममा परिवर्तन आएकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
जसकाे कारण आज बिहानैदेखि कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ ।
काठमाडौंमा पनि बिहानैदेखि वर्षा भइरहेकाे छ भने पछिल्लो चौबीस घन्टामा सुर्खेतको इतराममा १३५ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीको लुम्लेमा ९८.६ मिलिमिटर, काठमाडौंको साँखुमा ९३.६ मिलिमिटर, पाल्पाको अर्चलेमा ८१.६ मिलिमिटर वर्षा भएको छ भने देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएकाे छ ।
आज दिउसो देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुने अनुमान गरिएकाे महाशाखाले जनाएको छ ।
त्यसैगरि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागको थोरै स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाकाे सम्भावना रहेकाे छ ।
आज राति हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ । देशको पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी, मधेश, कोशी, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेधगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेकाे छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।