गत साउन महिनामा सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लंधन गर्ने ५ हजार बढि सवारी चालक कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार प्रदेशमा साउन महिनामा ५ हजार २ सय २ सवारी चालक कारबाही परेका हुन् ।
उक्त सवारी कारबाहीबाट प्रहरीले ४३ लाख ६३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिएका छन् । उनका अनुसार साउनमा सुदूरपश्चिममा २२३ सवारी दुर्घटना भएका थिए भने दुर्घटनामा परि १५ जनाको मृत्यु हुनुका साथै ३ सय २४ जना घाइते भएका थिए ।
साउन एक महिनाकाे अवधिमा दुर्घटनामा ३२९ सवारी संलग्न रहेका थिए भने १८१ दुर्घटना चालकका कारण भएकाे र जसमध्ये ९ मादक पदार्थ सेवनका कारण दुर्घटना भएकाे थियाे । त्यसैगरी, सवारी साधनका कारण ४, पैदल यात्रीका कारण १२, चौपायाको कारण १५, मौसमका कारण एक र सडकका कारण एक वटा दुर्घटना भएको प्रहरी तथ्यांकमा उल्लेख गरिएकाे छ ।
त्यसैगरी उक्त अवधिमा प्रहरीले १ करोड ६९ लाख ५७ हजार ७८२ मूल्य बराबरको भन्सार छली ल्याएको सामान नियन्त्रणमा लिएको छ । प्राकृतिक सम्पदा दोहनमा संलग्न २४ वटा सवारीसाधन बरामद गरी २ लाख ५४ हजार ५ सय जरिवाना असुल गर्दै त्यसमा संलग्न ९ जनालाई पक्राउ गरिएको बताइएकाे छ ।
त्यस्तै अवैध वन पैदावार चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर ७१४ क्युफिट काठ बरामद गरेर ८ लाख ३ हजार राजस्व संकलन गरेको थियाे भने अवैध पशुपन्छी नियन्त्रणबाट प्रहरीले १ लाख २६ हजार राजस्व संकलन गरेको बताइएकाे छ ।