गत मंगलबार रसुवाकाे भोटेकोशीमा गएकाे बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोककाे विभिन्न निकायले ३६ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकाे छ ।
जसमा चौँरीदेउराली गाउँपालिकाले १० लाख, रोशी गाउँपालिकाले १० लाख, नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले ११ लाख र बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले ५ लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् ।
चौँरीदेउराली गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको बताइएकाे छ ।
त्यस्तै रोशी गाउँपालिकाले जनप्रतिनिधिको ७ दिन बराबरको सेवासुविधा तथा कर्मचारी र शिक्षकको १ दिनको पारिश्रमिकबाट ९ लाख ७० हजार ७ सय तथा विपद् व्यवस्थापन कोषबाट २९ हजार २ सय गरी १० लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हाे ।
त्यसैगरी नेपाली कांग्रेस जिल्ला समितिले नेता तथा कार्यकर्ताबाट संकलित ११ लाख पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाउने बताइएकाे छ ।
त्यस्तै अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
भोटेकोशी बाढीका क्रममा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका काभ्रेका ३९ जना नागरिक सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । जिल्लाका ४७ जना बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएको पनि कार्यालयले जनाएको छ ।