आज कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा दिइएको छ । जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका र लालझाँडी, बेलडाँडी गाउँपालिका लगायतका स्थानीय निकायमा गौरा पर्वकाे सार्वजनिक बिदा दिएको हो ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा मनाइने महत्वपूर्ण चाड गौराको अवसरमा स्थानीय बिदा दिएको जनाएका छन् ।
गाैरा पर्वकाे अवसरमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि आज पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।
त्यसैगरि उता चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम)का अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यही भदौ २२ र २३ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेकाे बताइएकाे छ ।
राक्सिराङ गाउँपालिकाले सरकारी कार्यालय, सार्वजनिक संघसंस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।