नेपाल नेत्रज्योति संघ चितवनले बाढीपहिरो पछि आँखामा समस्या हुनसक्ने जनाउँदै सावधानीका लागि अनुरोध सहित निःशुल्क आँखा उपचार सेवा दिएकाे छ । चिकित्सकले बाढीपहिरो पछि आँखामा समस्या हुनसक्ने भएकाले सावधानीका लागि अनुरोध गरेका छन् ।
नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा. पुष्पा गिरी श्रेष्ठले दूषित पानीले आँखा रातो हुने, सुन्निने, पिप जम्ने, चिलाउने, चोटपटक लाग्ने, दृष्टि धमिलो हुनेजस्ता सङ्क्रमणको जोखिम उच्च हुने बताउँदै सावधानी अपनाउनु पर्ने बताए ।
भदाै १० गतेकाे भोटेकोशीको बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका बासिन्दा प्रभावित भएको जनाउँदै आँखाको सुरक्षामा ख्याल गर्न उनको सुझाव दिइएकाे छ । उनले भने, “आँखामा कुनै समस्या देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्छ ।”
आँखालाई दूषित पानी र वातावरणबाट जोगाउनुपर्ने जनाउँदै उनले सम्भव नभए तत्काल सफा गर्ने र समस्या देखिएमा परीक्षण गर्नुपर्ने बताए । अहिले भरतपुर आँखा अस्पतालले बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा दिइरहेको छ ।
अस्पतालका अध्यक्ष एवं संघका सभापति जयराम श्रेष्ठले संघद्वारा सञ्चालित आँखा अस्पतालमा प्रभावितलाई निःशुल्क सेवा दिइएको छ भने त्यसका लागि अस्पतालको धादिङको सल्यानटार, बेनीघाट, चितवनको कुरीनटार, तनहुँको आँबुखैरहनीमा उपचार केन्द्र रहेको छ ।
भरतपुर आँखा अस्पतालमा आएर पनि सेवा लिनसक्ने बताउँदै सभापति श्रेष्ठले प्रभावित क्षेत्रमा शिविरको आवश्यकता भएमा एकल वा अन्य संघसंस्थासँग साझेदारीमा शिविरमार्फत निःशुल्क सेवा दिइने बताएका छन् ।