अहिले देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ । जसकाे प्रभावले देशकाे विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभाग, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।
त्यसैगरि आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ । दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेकाे पनि विभागले जनाएकाे छ ।
त्यस्तै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस र कोसी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहुनुका साथै लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाे छ ।
राति देशभर साधारणतया बादल लाग्ने छ भने हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेकाे बताइएकाे छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ ।